दफा ३
कोषको स्थापना
(१) कर्मचारी सञ्चयकोष नामको एक कोष स्थापना गरिनेछ । कोषमा निम्नलिखित रकमहरू रहनेछन् र यो ऐन वा यस अन्तर्गत बनेका नियमहरू बमोजिम गर्नुपर्ने सबै काम काजको निमित्त कोषबाट खर्च बेहोरिनेछः–
(क) कोषको आर्थिक सहायताको निमित्त नेपाल सरकार वा अन्य व्यक्तिले दिएका सबै रकमहरू,
(ख) यो ऐन बमोजिम कर्मचारीहरूको तलबबाट कट्टा गरिएको र त्यसमा कार्यालयबाट थपी जम्मा गरिएको सबै रकमहरू,
(ग) कोषको रकमबाट ब्याज र लाभको रूपमा उठेको सबै रकमहरू,
(घ) यो ऐन प्रारम्भ हुनुभन्दा अधि नेपाल सरकारले सन्चालन गरेको निजामती प्रभिडेण्ट फण्ड, सैनिक द्रव्यकोष र कर्मचारीको सञ्चयकोमा भएको सबै रकमहरू, र
(ङ) कोषलाई प्राप्त भएका सबै रकमहरू ।
(२) कोषको सबै रकम नेपाल राष्ट्र बैंक वा समितिले तोकेको अन्य कुनै बैंकमा राखिनेछ ।
तर, त्यस्तो कुनै बैंक नभएको ठाउँमा कोषको रकम माल अड्डा वा कोष तथा तहसिल कार्यालयमा राखिनेछ ।
(३) कोष अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ । संस्थाको सबै कामको निमित्त आफ्नो एउटा छुट्टै छाप हुनेछ । कोषले आफ्नो नामबाट नालेश उजूर गर्न र निज उपर सोही नामबाट नालेश उजूर लाग्न सक्नेछ ।
(४) यो ऐन र यस अन्तर्गत बनेको नियमहरूको अधीनमा रही कोषले चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, नामसारी गर्न, बिक्री तथा सट्टापट्टा गर्न र यो ऐनको उद्देश्य पूर्तिका लागि आवश्यक भएका अरू सबै काम गर्न सक्नेछ ।
(५) कोषको प्रधान कार्यालय काठमाडौं उपत्यकाभित्र रहनेछ र कोषको काम सुचारू रूपले चलाउन कोषले चाहेको बखत नेपालका अन्य क्षेत्रहरूमा शाखा उपशाखाहरू खोल्न सक्नेछ ।